काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने नयाँ कम्युनिस्ट पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” तय भएको छ। प्रज्ञाभवन, कमलादीमा जारी माओवादी महाधिवेशनको आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन्।
पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने सहमति आठ दलबिच पहिले नै भइसकेको थियो। यसअघि आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम स्पष्ट नभएको थियो।
भोलि भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरी नयाँ पार्टीको एकता औपचारिकरुपमा घोषणा गरिनेछ।
यो एकतासँगै नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक परिदृश्य उदाउने अपेक्षा गरिएको छ।

