काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी २१ फागुनमा हुने निर्वाचनमार्फत नयाँ संसद गठन हुने स्पष्ट पारेका छन् । उनले संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो यही निर्वाचन भएको भन्दै यसमा कुनै द्विविधा नराख्न सबैलाई आग्रह गरे ।
कांग्रेसले यस विषयमा आफ्नो अडान र निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको थापाको भनाइ छ । उनले भने, ‘संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ ।’
महामन्त्री थापाले पार्टीभित्र अहिले देखिएको अलमल २१ फागुनको निर्वाचनसँग सम्बन्धित नभएको पनि प्रष्ट पारेका छन् । उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन, यस सन्दर्भमा हामी स्पष्ट छौँ ।’
थापाले अधिवेशनका विषयमा भने, ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।’
उनले अगाडि भने, ‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ ।’

