काठमाडौं । निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावली दर्ता कार्य सुरु गरेपछि हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार कात्तिक २५ गतेसम्म कुल दुई लाख नौ हजार पाँच सय ५२ जना मतदाता नयाँ रूपमा नाम दर्ता भएका छन्।
हाल केही दिनयता नाम दर्ताका लागि भीड बढेपछि आयोगले कामको गति बढाउँदै दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रदान गर्न थालेको छ। प्रवक्ता भट्टराईले भने, “अब बिहान र बेलुकी ६–६ घण्टाका दरले कर्मचारीहरू निरन्तर काम गरिरहेका छन्।”
काठमाडौं उपत्यकामा अतिरिक्त कर्मचारी खटाइयो
मतदाता नाम दर्तामा चाप बढेसँगै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा १४ जना अतिरिक्त कर्मचारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटाइएको आयोगले जनाएको छ।
अन्य जिल्लामा पनि जनशक्ति थपिँदै
अन्य जिल्लाहरूमा पनि सेवाग्राहीको चाप हेरेर थप जनशक्ति पठाउने तयारी भएको आयोगले जनाएको छ। यसका लागि गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरिएको छ।
आयोगले मतदाता नामावली दर्ता कार्यक्रमलाई तीव्र बनाउँदै आगामी निर्वाचनका लागि अधिकतम नागरिकको सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

