काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र ज्योति साहित्य प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनमा शिखर कवि शैलेन्द्र साकारको जन्मोत्सव केक काटेर मनाइयो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा सोही अवसरमा युवा कवि सुनिता अधिकारीको काव्यकृति ‘सुनिताका अनुभूतिहरू साहित्यिक वातावरणमा लोकार्पण सम्पन्न भयो।
कार्यक्रममा माननीय आभा सेतु सिंह, प्रा. डा. गोविन्दमान सिंह कार्की, प्रा. डा. बिष्णुहरी नेपाल, पूर्व–प्राज्ञ माया ठकुरी, शिखर कवि शैलेन्द्र साकार, विश्वकवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवस, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सभाका सभापति मणिराज सिंह, सर्जक युवा कवि सुनिता अधिकारी लगायत साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विश्व कवि प्रा. तुलसी दिवसले पुस्तकको कभर र कृतिको शक्तिशाली सम्बन्धलाई विशेष रूपमा उल्लेख गर्दै कभरमा त भर्खरै फुल्न लागेको फूल छ, तर पुस्तकभित्रका कविताहरू भने पूर्णरूपमा फुलिसकेका छन्—परिपक्व, सुवासित र गहिरो अनुभव बोकेका। लोकसंस्कृतिविद् दिवसले पुस्तक “युवा हृदयको ताजगी र सशक्त अभिव्यक्तिको सुन्दर संगम” हो भन्नू हुँदै सुनितालाई मुक्तकण्ठले बधाई दिदै उज्वल भविष्यको लागि शुभकामना दिनु भयो।
प्रा. डा. गोविन्दमान सिंह कार्की, योगाज राजन, रश्मि कार्की, संगीता खरेल लगायतका स्रष्टाहरूले सुनिताका अनुभूतिहरूबाट मन परेका कविताहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप काव्यमय बनाएका थिए।
पुस्तक ‘सुनिताका अनुभूतिहरू’बारे अतिथिहरूले सारगर्भित विचारहरू प्रस्तुत गर्ने क्रममा माननीय आभा सेतु सिंहले पुस्तकले युवा पुस्ताको भावना, संवेदना र समकालीन दृष्टिकोणलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेको बताइन्।
प्रा. डा. गोविन्दमान सिंह कार्कीले कृतिको भाषिक सौन्दर्य, भाव–प्रवाह र संवेदनशीलता उल्लेखनीय रहेको टिप्पणी गर्दै यसलाई ‘‘युवा चेतनाको सशक्त दस्तावेज’’ र अग्रग्रामी चेत भएकी जेनजी कविको रूपमा सुनिता अधिकारीलाई बधाई दिइन्।
शिखर कवि शैलेन्द्र साकारले कृतिमा देखिने ताजगी, परिपक्वता र कविताको स्वाभाविक प्रवाहले नेपाली साहित्यमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
पूर्व–प्राज्ञ माया ठकुरीले पुस्तकमा महिला लेखकको मार्मिक दृष्टि, आत्मबल र भावनात्मक परिपक्वता सुन्दर रूपमा अभिव्यक्त भएको भन्नू हुँदै उज्वल भविष्यको कामना व्यक्त गरिन्। प्रा. डा. बिष्णुहरी नेपालले पुस्तकमा प्रस्तुत प्रेम, पीडा, संघर्ष र अस्तित्वका बिम्बहरूले पाठकको जीवन–अनुभवलाई छोएको बताउँदै कविता वाचन गर्नु भयो।।
सभापति मणिराज सिंहले यस्तो कृति र कार्यक्रमले वरिष्ठ र युवा पुस्ताबीचको साहित्यिक सेतु बलियो बनाउँदै नेपाली साहित्यलाई नयाँ दिशा दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। सभापति सिंहले
साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिता, सम्मानजनक अभिव्यक्ति, काव्य–वाचन र सकारात्मक प्रतिक्रियाले आजको कार्यक्रमलाई नेपाली साहित्यका लागि अत्यन्त स्मरणीय बनाएको अनुभूति भयो। उनले सुनितासित को पहिलो भेटको प्रसङ्ग कोट्याउदै २१वर्षकी जेनजी कवि सुनिता अधिकारीको उज्वल भविष्यको कामना गर्नु भयो। उनले सुनितालाई छोरीको रूपमा दशैँमा टीका लाएर आशिर्वाद दिएको प्रसङ्ग कोट्याउनु भयो।
आयोजक संस्थाहरू विश्व नेपाली साहित्य महासङ्घ र ज्योति साहित्य प्रतिष्ठानका तर्फबाट आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूले सिर्जनात्मक संवाद र साहित्यिक ऊर्जा प्रवाह गर्न मद्दत गर्ने अपेक्षा व्यक्त गरे।
. डा. गोविन्दमान सिंह कार्की, डा बिष्णु हरी नेपाल, शैलेन्द्र साकार, कल्पना मरासिनी, योगाज राजन, रश्मि रिमाल, संगीता खरेल, जीवन श्रेष्ठ र हरी पथिकले सुनितका अनुभूतिहरूबाट मन परेका १/१ कविताहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप काव्यमय बनाएका थिए।
कार्यक्रमको सञ्चालन सुधा बोस्कोटा ढकाल तथा संगीता खरेलले आकर्षक शैलीमा गरिन्।

