काठमाडौं । किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की आएको विषयप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघको काठमाडौं शाखाले जारी गरेको विज्ञप्तिअनुसार केही दिनअघि जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा मन्त्री र सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि दबाब, निगरानी र धम्की बढेको बताइएको छ।
महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा, गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि भइरहेको जानकारी श्रेष्ठले महासंघलाई गराएको उल्लेख गरिएको छ।
महासंघले समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको ठहर गर्दै कडा शब्दमा निन्दा गरेको छ। साथै प्रेसविरोधी गतिविधि तत्काल रोक्न, समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्न तथा पत्रकारलाई धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

