काठमाडौं । स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै औषधिमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सोमबार भएको समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ।
नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ।
समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। साथै, सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत गरिने व्यवस्था मिलाइनेछ।
मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ।
यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

