चितवन । लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिङ सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार चितवनका विभिन्न स्थानका साथै धादिङलगायत क्षेत्रमा पहिरो खस्ने उच्च जोखिम रहेकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा यात्रु र सवारीसाधनको सुरक्षामा गम्भीर जोखिम हुन सक्ने भएकाले यो निर्णय गरिएको उल्लेख छ।
प्रशासनले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, यात्रु तथा सवारी चालकलाई मौसमको अवस्था र सडकको पछिल्लो जानकारी लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
यसअघि पनि शनिबार राति लगातारको वर्षा र पहिरोको जोखिमका कारण नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको थियो। मौसममा सुधार नआएकाले आइतबार पनि रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई अनावश्यक रात्री यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ।

