काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडि शुक्रबार भएको बहुसवारी दुर्घटनामा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कार अनियन्त्रित भई बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने ६५ वर्षीया कुन्तिमाया लिम्बूको टाउको र दायाँ हातमा गम्भीर चोट लागेको छ।
दुर्घटनामा घाइते हुनेमा सिवानी शाही, सुशान्त शाही, मोटरसाइकल चालक बिकी शाहा, ट्याक्सी चालक उर्जा लामा, कुन्तिमाया लिम्बू, निउजित शाह, विष्णुमाया खापुङ, पार्वती तामाङ, बिनोद थापा मगर र जीवन राना मगर रहेका छन्।
प्रहरीले दुर्घटनामा संलग्न सबै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ।

