काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लडेर हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य र भ्रामक रहेको भन्दै उहाँको सचिवालयले खण्डन गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत सचिवालयले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलाइएका ‘देउवा लडेर हात भाँचिएको’ भन्ने आशयका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सचिवालयले देउवा न त लडेको र न त उहाँको हात भाँचिएको स्पष्ट पार्दै यस्ता अपुष्ट र आधारहीन हल्लाले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने जनाएको छ।
विज्ञप्तिमा कुनै पनि आधिकारिक पुष्टिबिना यस्ता समाचार वा हल्ला फैलाउनु गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै तथ्यहीन सूचना सम्प्रेषण नगर्न सबैलाई आग्रह गरिएको छ।
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट सत्यता पुष्टि गर्न अनुरोध गरेको छ।
साथै, तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह र भ्रम फैलाउने गतिविधिबाट टाढा रहन पनि सचिवालयले सबैमा अपिल गरेको छ।

