काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व सङ्कलनका लक्ष्य पूरा गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सहभागी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्रको पहिलो चरण भएको उल्लेख गरे। विगतमा देखिएको कमजोर पूँजीगत खर्च र अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको अवस्थालाई दोहोरिन नदिन योजनाबद्ध रूपमा काम गर्न उनले आग्रह गरे।
अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षमा पूँजीगत खर्च करिब ४९ प्रतिशत मात्रै भएको र राजस्व सङ्कलन रु. १२.५ खर्ब हाराहारीमा सीमित रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा यस्तो अवस्था स्वीकार्य नहुने बताए। उनले कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च सुनिश्चित गर्दै करिब रु. १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिए।
उनले बजेट कार्यान्वयनमा देखिने कानुनी तथा व्यावहारिक समस्या खुलेर अर्थ मन्त्रालयसमक्ष राख्न सचिवहरूलाई आग्रह गर्दै समस्या समाधानका लागि मन्त्रालय तयार रहेको बताए। साथै, रकमान्तर र अवण्डा बजेट विस्तारसम्बन्धी अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएकाले त्यसको प्रभावकारी उपयोग गर्न पनि उनले निर्देशन दिए।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सबै मन्त्रालयको समन्वय, उत्तरदायित्व र परिणाममुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै यस वर्ष विकास खर्च र राजस्व व्यवस्थापनमा उल्लेखनीय सुधार देखिनुपर्नेमा जोड दिए।

