काठमाडौं ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीबाट प्राप्त हुने उजुरी वा निवेदन एक घण्टाभित्र सम्बोधन गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
विभागले मंगलबार सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक प्रक्रिया अघि बढाई त्यसबारे सेवाग्राहीलाई जानकारी गराउन निर्देशन दिएको हो।
विभागका अनुसार हेल्लो सरकार, मन्त्रालय, विभाग तथा अन्य माध्यमबाट प्राप्त गुनासा समयमै सम्बोधन नभएको, कर्मचारीबाट उचित व्यवहार नपाएको तथा न्याय प्राप्तिमा ढिलाइ भएको गुनासो बढेपछि सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो।
परिपत्रमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी, आचरण र सेवाप्रतिको उत्तरदायित्व पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, कुनै उजुरी वा निवेदन सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपरेमा तत्काल सेवाग्राहीलाई जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने, श्रमिकका उजुरीमा सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिनुपर्ने तथा श्रम कानुनबमोजिम वार्तामार्फत विवाद समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
वार्ताबाट समाधान हुन नसकेमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने, श्रम अदालत तथा श्रम कार्यालयबाट भएका आदेश र निर्णय समयमै कार्यान्वयन गर्नुपर्ने तथा हेल्लो सरकारमार्फत प्राप्त गुनासा सम्बोधन गरेपछि त्यसको जानकारी सम्बन्धित निकायलाई तत्काल गराउन पनि विभागले निर्देशन दिएको छ।

