काठमाडौं । साउन ३ गते काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलालीको धनगढीकी माछापोखरीमा बस्दै आएकी ती युवतीको शव होटलको कोठाभित्र पलङमुनि फेला परेको थियो।
प्रहरीले जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई नेपालगन्ज बस्ने ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पहिलो चरणमा सात दिनको म्याद लिइएको छ।
अनुसन्धानका क्रममा रमेश बुढा हत्यामा प्रत्यक्ष संलग्न रहेको तथा हत्या भएको होटलको कोठा दानबहादुर शाहीको नाममा बुक गरिएको खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछमा दानबहादुरले घटनाबारे आफूलाई जानकारी नभएको, आफू बस्नका लागि कोठा बुक गरेको र पछि रमेश त्यहीँ आएको बताएका छन्।
यता रमेश बुढाले भने आफूले एक्लैले हत्या गरेको स्वीकार गर्दै प्रहरीसमक्ष बयान दिएका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी दीलिप घिमिरेका अनुसार उनको बयानसँगै हत्या किन र कसरी भयो भन्ने प्रारम्भिक विवरण खुलेको छ।
एक लाख रुपैयाँ हराएपछि सुरु भयो खोजी
प्रहरीका अनुसार असार ३१ गते पोखराबाट काठमाडौं आएका रमेश बुढा घर दैलेख जाने तयारीमा थिए। पोखरामा काम गरेर कमाएको करिब एक लाख रुपैयाँ उनको झोलामा थियो।
बसपार्कमा ओर्लिएपछि उनको ती युवतीसँग भेट भयो। युवतीले होटल जान प्रस्ताव गरेपछि उनी नजिकैको होटल पुगे। कोठामा पुगेपछि युवतीले रमेशलाई नुहाउन पठाइन्। रमेश बाथरुममा छिरेपछि बाहिरबाट चुकुल लगाएर उनको झोला खोलेर एक लाख रुपैयाँ लिएर फरार भएको आरोप प्रहरीले उल्लेख गरेको छ।
रमेश केही समयपछि होटलका कर्मचारीको सहयोगमा बाहिर निस्किए। त्यसबेला उनको मोबाइल कोठामै भए पनि नगद रकम गायब भएको थियो। त्यसपछि उनले साथी दानबहादुरलाई फोन गरे। दानबहादुर पनि बसपार्ककै होटल माउन्टेन एल्सिभामा बसिरहेको जानकारी पाएपछि उनी त्यहाँ पुगे। त्यही रात उनीहरू सँगै बसे।
पुनः भेट भएपछि विवाद चर्कियो
भोलिपल्ट रमेशले मास्क लगाएर युवतीको खोजी सुरु गरे। बसपार्कमै ती युवती भेटिएपछि उनले फेरि होटल जान प्रस्ताव गरे र युवती सहमत भइन्। उनीहरू दानबहादुरले बुक गरेको होटलको कोठा नम्बर ४०४ मा पुगेका थिए। होटलको सीसीटीभी फुटेजमा पनि रमेश अगाडि र युवती पछाडि कोठातर्फ गएको देखिएको प्रहरीले जनाएको छ।
कोठामा पुगेपछि रमेशले मास्क हटाएपछि युवतीले उनलाई चिनिन्। त्यसपछि दुवैबीच रकमको विषयमा विवाद भएको प्रहरीको भनाइ छ। रमेशले आफ्नो एक लाख रुपैयाँ माग्दा युवतीले बियरको बोतलले आक्रमण गर्न खोजेको दाबी उनले बयानमा गरेका छन्।
रमेशको बयानअनुसार त्यसपछि उनले बोतल खोसेर युवतीमाथि प्रहार गरे र बेल्टले घाँटी कसेर हत्या गरे। त्यसपछि शव पलङमुनि लुकाएको उनले स्वीकार गरेका छन्।
हत्यापछि पनि त्यही कोठामा बसे
प्रहरीका अनुसार घटनापछि बेलुका दानबहादुर होटल फर्किएपछि दुवै जना त्यही कोठामा बसेका थिए। रमेशले दानबहादुरलाई घटनाबारे जानकारी नभएको दाबी गरेका छन्।
साउन १ गते उनीहरू होटल छाडेर गए। त्यसपछि अन्य ग्राहक पनि त्यही कोठामा बसेका थिए। तर पलङमुनि रहेको शव कसैले देखेनन्। साउन ३ गते कोठा सफा गर्न पुगेका कर्मचारीले दुर्गन्ध आएपछि पलङमुनि हेर्दा शव फेला पारे र तत्काल प्रहरीलाई खबर गरेका थिए।
सीसीटीभी र होटल रजिस्टरबाट खुल्यो घटनाको रहस्य
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले होटलको लगबुक तथा सीसीटीभी फुटेज अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा कोठा नम्बर ४०४ दानबहादुर शाहीको नाममा बुक रहेको र युवती होटल प्रवेश गरे पनि बाहिर ननिस्किएको पुष्टि भएको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले होटलमा आएका अन्य व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर घटनामा रमेशबाहेक अन्यको संलग्नता नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
दानबहादुर नेपालगन्ज पुगेका बेला जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो भने रमेशलाई महाराजगञ्जस्थित होटल साम्बालानजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले होटलको कोठा दानबहादुरकै नाममा बुक भएको र हत्या पनि सोही कोठामा भएकाले उनीमाथि समेत थप अनुसन्धान जारी रहेको जनाएको छ। घटनाबारे थप प्रमाण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

