काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले अन्तिम तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देव रहेका थिए।
तीन जना प्रतिस्पर्धीमध्ये साह कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।
साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। निगमको प्रशासनिक तथा सञ्चालन अनुभवका आधारमा उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताइएको छ।
नवनियुक्त कार्यकारी निर्देशक साहले अब निगमको समग्र व्यवस्थापन, पेट्रोलियम पदार्थको आयात तथा आपूर्ति व्यवस्थापन, भण्डारण क्षमता विस्तार, पूर्वाधार विकास र निगमको संस्थागत सुधारका कामको नेतृत्व गर्नेछन्।
सरकारले पेट्रोलियम क्षेत्रको आपूर्ति प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उपभोक्तामैत्री बनाउने लक्ष्यका साथ नयाँ नेतृत्व नियुक्त गरेको जनाएको छ।

