काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विदेशमा तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकले समेत मतदान गर्न पाउने व्यवस्था मिलाउन आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा तथा निर्वाचन सुधारसम्बन्धी छलफलका क्रममा गृहमन्त्री गुरुङले सबै नागरिकको मतदानको अधिकार सुनिश्चित हुने गरी कानुनी तथा प्राविधिक तयारी अघि बढाउन आग्रह गरेका हुन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृहमन्त्रीले सबै मतदातालाई मताधिकार प्रयोग गर्ने अवसर उपलब्ध गराउन आवश्यक कानुनी व्यवस्थाहरू प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा समेट्न आग्रह गरेका छन्।
यसका साथै विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताले मतदान गर्न सक्ने प्रणाली विकासका लागि आवश्यक प्राविधिक तयारीसमेत सुरु गर्न आयोगलाई आग्रह गरिएको छ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोग निर्वाचन प्रणाली तथा प्रक्रियामा सुधार गर्न सक्रिय रहेको बताए।
उनले आममतदाताको चाहना र समयको आवश्यकताअनुसार निर्वाचनको विधि तथा पद्धतिमा सुधार गर्न कानुनी, संस्थागत र प्राविधिक तयारी सुरु गरिसकिएको जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन सुधारका लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति सरकारले उपलब्ध गराउने विश्वाससमेत व्यक्त गरेका छन्।

