काठमाडौं । सरकारले बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्को समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले विपद्का बेला उद्धार तथा राहत कार्यमा खटिँदा पाउने भत्ता र दैनिक खाजा खर्चमा वृद्धि गरिनेछ। विपद्को समयमा जोखिम मोलेर लामो समयसम्म उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीलाई थप प्रोत्साहन र सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको कार्यकारी समितिको निर्णय कार्यान्वयनका लागि सम्बन्धित सुरक्षा निकायले आफ्नो तालुकदार मन्त्रालयमा आवश्यक प्रस्ताव तथा विवरणसहित लेखिपठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी भत्ता तथा खाजा खर्चसम्बन्धी निर्णय गर्नेछन्।
पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुँदै आएको छ। उद्धार, बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा राहत सामग्री वितरणलगायतका काममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली प्रत्यक्ष रूपमा परिचालन हुँदै आएका छन्।
विशेषगरी विपद्का बेला कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मी लामो समयसम्म खटिनुपर्ने भएकाले उनीहरूको सेवा सुविधा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिँदै आएको थियो।
सरकारको पछिल्लो निर्णयले विपद् व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई थप सुविधा उपलब्ध गराउने बाटो खुलेको छ। अब सम्बन्धित सुरक्षा निकाय र मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएपछि बढाइएको भत्ता तथा खाजा खर्च कार्यान्वयनमा आउनेछ।

