काठमाडौं । रसुवाको भोटेकोशीसहित नुवाकोट, धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने बताएका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।
६९ उडानबाट ३५१ जनाको उद्धार
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको प्रधानमन्त्रीले बताएका छन्। बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको छ।
थप हेलिकप्टर तयारी अवस्थामा राखिएको र निजी हेलिकप्टरलाई समेत सरकारी कमान्ड तथा समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको उनले बताए।
हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
३ हजार ५०० जनाका लागि अस्थायी आवास
प्रभावित नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ।
चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत राहत सामग्री बोकेका १० ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत पठाउने काम भइरहेको छ।
अस्पतालमा सयौँ शय्या तयारी अवस्थामा
सरकारले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीले बताएका छन्।
वीर अस्पताल र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको छ।
आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको र प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ छ।
७० भन्दा बढी टेलिकम साइट बन्द
बाढीपहिरोका कारण दूरसञ्चार सेवामा समेत असर परेको छ। प्रधानमन्त्रीका अनुसार नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी ७० भन्दा बढी टावर तथा साइट बन्द भएका छन्।
प्राविधिक टोली, जेनेरेटर तथा ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ।
प्रभावित नागरिकलाई निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा दिएको छ भने एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्।
सडक, पुल र विद्युत् पुनःस्थापनामा प्राथमिकता
बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको छ।
सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिको मूल्याङ्कन तथा पुनःस्थापनाको काम तीव्र बनाउन निर्देशन दिइएको छ।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिनसमेत आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।
ड्रोनबाट क्षतिको मूल्याङ्कन
प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्याङ्कन भइरहेको छ।
फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार तथा राहतलाई थप लक्षित र प्रभावकारी बनाउने काम भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
उनले भनेका छन्, “हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।”

