काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन तत्काल स्थगित गर्न माग गरिएअनुसार अन्तरिम आदेश जारी नगरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काले पूरक निवेदनमार्फत कांग्रेसको १५औँ महाधिवेशन स्थगित गर्न माग गरेका थिए। तर, तीन सदस्यीय पूर्ण इजलासले तत्काल महाधिवेशन रोक्ने अन्तरिम आदेश आवश्यक नरहेको ठहर गरेको हो।
सर्वोच्चको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेसको संस्थापन पक्षलाई नियमित सांगठनिक तथा दलीय गतिविधि अघि बढाउने बाटो खुलेको छ।
यद्यपि, पुनरवलोकनको निवेदनमाथि सर्वोच्च अदालतले आगामी दिनमा थप आदेश दिन सक्नेछ। हालसम्म भने कांग्रेसको १५औँ महाधिवेशन स्थगन गर्ने सम्बन्धमा कुनै अन्तरिम आदेश जारी भएको छैन।

