लमजुङ । चितवन मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले लमजुङको राइनास नगरपालिका–७ स्थित सहोदर सामुदायिक अस्पतालमा सामुदायिक स्वास्थ्य फिल्ड कार्यक्रमअन्तर्गत ठोस फोहोर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
समुदायमा बढ्दो फोहोरबाट उत्पन्न हुन सक्ने स्वास्थ्य तथा वातावरणीय समस्याबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने, पुनःप्रयोग गर्ने, पुनर्चक्रण गर्ने तथा फोहोरको उचित व्यवस्थापन गर्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा समाजसेवी भोजराज चिलुवाल, दुर्गा भुजेल, मदनबाबु गिरी, जनकराज भट्ट, वीरेन्द्र पाण्डे, कमला चिलुवाल, रमा लौडारी तथा स्वयंसेविका विमला विकको सहभागिता रहेको थियो।
एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरूको सामुदायिक स्वास्थ्य फिल्ड कार्यक्रमअन्तर्गत राइनास क्षेत्रमा जम्मा १३ वटा समूह परिचालन गरिएको छ। सोहीअन्तर्गत समूह ‘I’ मा नौ जना विद्यार्थी सहभागी रहेका छन्। उक्त समूहले राइनास नगरपालिका–७ का स्थानीय समुदायलाई लक्षित गरी फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।

समूह ‘I’ मा भूषण दाहाल, किरण श्रेष्ठ, सुमित शाह, मेलिना विष्ट, सिसम भण्डारी, सुवेक्षा पिया, युवराज पराठे, सुदीप गौँली र अमान रोमान सहभागी छन्।
विद्यार्थीहरूले फोहोर व्यवस्थापनका 3R सिद्धान्तबारे विशेष छलफल गरेका थिए। जसअन्तर्गत—
Reduce (घटाउने): अनावश्यक वस्तुको प्रयोग कम गर्ने।
Reuse (पुनःप्रयोग): सामानलाई फाल्नुको सट्टा पुनः प्रयोग गर्ने।
Recycle (पुनर्चक्रण): फोहोरलाई प्रशोधन गरी नयाँ वस्तु बनाउन प्रयोग गर्ने।
कार्यक्रमले समुदायमा सरसफाइ, वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यार्थीहरूले फोहोर जथाभावी फाल्ने प्रवृत्तिको अन्त्य गर्दै “फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण गरौँ” भन्ने व्यवहारलाई समुदायस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

