काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट शव भेटिने क्रम जारी रहे पनि ९१० जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको छ।
सबैभन्दा धेरै शव चितवनमा १३२ जनाको भेटिएको छ। त्यसपछि नवलपरासी पूर्वमा ८२ र गोरखामा ३० जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
९१० जना अझै सम्पर्कविहीन
बाढी तथा त्यसपछिको विपद्का कारण विभिन्न क्षेत्रका ९१० जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन्।
त्यस्तै रसुवाका १६१ र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विदेशी नागरिकतर्फ मात्रै ५१७ जना सम्पर्कविहीन छन्। त्यस्तै विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।
हेलिकप्टरबाट ७९६ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बिहीबार मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन्।
हालसम्म हेलिकप्टरबाट उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ।
स्थलमार्गबाट भने हालसम्म ७५६ जनाको उद्धार गरिएको छ। सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि हवाई र स्थल उद्धारलाई एकसाथ अघि बढाइएको छ।
प्रभावित जिल्लामा डेढ करोड तत्काल राहत
सरकारले बाढी प्रभावित जिल्लामा तत्काल राहतका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरणका अनुसार रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
उक्त रकमबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा मानवीय सहायता उपलब्ध गराउने तयारी गरिएको छ।
१० ट्रक राहत सामग्री पठाइयो
प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ। राहत सामग्रीमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत सामग्री छन्।
प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ। खाद्य तथा गैरखाद्य सामग्री पुर्याउन हेलिकप्टरबाट चार वटा उडान गरिएको प्राधिकरणले जनाएको छ।
सडक तथा पुलमा क्षति पुगेका कारण स्थलमार्गबाट राहत सामग्री पुर्याउन कठिनाइ भएका क्षेत्रमा हवाई माध्यमबाट सामग्री पठाउने काम भइरहेको छ।
खोजी र उद्धार अझै चुनौतीपूर्ण
भोटेकोशी बाढीपछि रसुवासहित त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीको बहावसँगै बगेका व्यक्तिको खोजीका क्रममा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा समेत शव भेटिने क्रम जारी छ।
चितवन, तनहुँ, नवलपरासी पूर्व तथा पश्चिमलगायतका क्षेत्रमा सुरक्षा निकायले नदी किनारमा खोजी तीव्र पारेका छन्। ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने जोखिम कायमै छ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकतामा राखेको छ। सडक, पुल, विद्युत् तथा सञ्चारलगायत अत्यावश्यक पूर्वाधारमा क्षति पुगेकाले उद्धार तथा राहत पुर्याउन चुनौती देखिएको छ।
प्राधिकरणले प्रभावित नागरिकको खोजी तथा उद्धारलाई निरन्तरता दिँदै सम्पर्कविहीनको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।

