काठमाडौं । चीनतर्फ भोटेकोसीको शिरमा खोला थुनिएर ठूलो पानीको ताल बनेपछि नेपालतर्फ पनि जोखिम बढेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म खोला थुनिएको स्थानमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।
तालबाट पानी ओभरफ्लो भएर बग्न थालेको जनाइएको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी सो क्षेत्रमा जम्मा हुन सक्ने अनुमान गरिएको छ। मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले उक्त ताल फुट्न सक्ने जोखिम उच्च रहेको जनाएको छ।
खोला थुनिएर ताल बनेको स्थान नेपाल–चीन सीमा नजिकैको केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा रहेको बताइएको छ। उक्त स्थान रसुवागढी नाकाबाट करिब २.५ किलोमिटर टाढा पर्छ।
चीनले गरिरहेको छ निरन्तर निगरानी
चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित रूपमा ताल फुटेर ठूलो बाढी आएमा तत्काल उद्धार कसरी गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ।
सम्भावित बाँध फुट्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ पक्षले विभिन्न काल्पनिक परिस्थितिको अभ्यास तथा जोखिम विश्लेषणसमेत गरिरहेको जनाएको छ। यसबाट ताल फुटेको अवस्थामा हुन सक्ने क्षति र उद्धारका उपाय पहिचान गर्ने प्रयास भइरहेको छ।
यसैबीच, चीनतर्फको केरूङ बन्दरगाह क्षेत्रमा बुधबार आएको बाढीले ठूलो क्षति पुर्याएपछि चिनियाँ पक्षले उद्धार तथा राहत टोली परिचालन गरेको छ।
आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उद्धार उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।
चीन आननङ ग्रुपका आठ इन्जिनियरको टोलीले ड्रोन प्रयोग गरी खोला थुनिएर ताल बनेको स्थानको तस्बिरसमेत खिचेको बताइएको छ।
केरूङमा पनि ठूलो क्षति
बाढीबाट चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरूङ बन्दरगाहमा समेत ठूलो क्षति पुगेको छ। बिहीबार बिहानसम्मको विवरणअनुसार घटनामा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको तथा दुई जनाको उद्धार गरिएको जनाइएको छ।
त्यस्तै, २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
नेपालतर्फ भने बुधबार भोटेकोसीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको छ। उपलब्ध विवरणअनुसार हालसम्म २७० जनाको शव फेला परेको र करिब एक हजार जना बेपत्ता रहेको बताइएको छ।
चीनतर्फ भोटेकोसीको शिरमा थप पानी जम्मा हुने अनुमान र ताल फुट्न सक्ने उच्च जोखिमको विवरण सार्वजनिक भएपछि नेपालतर्फ पनि सम्बन्धित निकायलाई थप सतर्क रहनुपर्ने अवस्था देखिएको छ।

