धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक पूर्णरूपमा भासिएपछि राजमार्गमा यातायात आवागमन ठप्प भएको छ।
सडक भासिएपछि सवारीसाधनसँगै पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। यसअघि गजुरी गाउँपालिका–२ स्थित परेवाभीर क्षेत्रमा समेत सडक भासिएपछि पृथ्वी राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो।
त्रिशूली नदीमा जलस्तर बढेसँगै सडकको जग कमजोर बन्दै गएका कारण सडक भासिएको प्रारम्भिक अनुमान गरिएको छ। सडक भासिएपछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
सडक थप भासिन सक्ने जोखिम रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई कृष्णभीरलगायत जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।
लगातारको वर्षा र त्रिशूली नदीको बढ्दो जलस्तरका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा भासिने जोखिम बढेको छ।

