काठमाडौं । नेकपा एमालेका संघीय सांसदहरूले रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक दिने भएका छन्।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। एमाले प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार सांसदहरूको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ।
एमालेले यसअघि नै बाढीपीडितको राहतका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। उक्त सहयोगमा थप टेवा पुग्ने गरी सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत कोषमा जम्मा गर्ने निर्णय गरिएको महरले बताए।
महरले बाढीपछि सरकारले राहत तथा उद्धारमा अपेक्षित प्रभावकारिता देखाउन नसकेको आरोप लगाए। समयमा उद्धार हुन नसक्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको र कतिपय प्रभावितले अझै प्रभावकारी रूपमा राहत प्राप्त गर्न नसकेको उनको भनाइ छ।
उनले जोखिमयुक्त सुरुङ तथा अन्य स्थानमा अझै उद्धार हुन नसकेको, बेपत्ताको खोजी प्रभावकारी नभएको तथा शव व्यवस्थापनमा समेत कमजोरी देखिएको बताए। शव पहिचान नगरी तथा सम्बन्धित परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिएको भन्दै उनले यस्तो कार्य तत्काल रोक्नुपर्ने माग गरे।
एमाले संसदीय दलले राहत, उद्धार, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णयसमेत गरेको छ।
महरका अनुसार बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गरिनेछ। उक्त बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
महरले उद्धारका लागि गुहार माग्दासमेत समयमै सुनुवाइ नहुँदा एउटै परिवारका धेरै सदस्यको ज्यान गएको दाबी गर्दै राहत तथा उद्धार कार्यमा भएको कमजोरीको गम्भीर समीक्षा आवश्यक रहेको बताए।
बैठकले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

