काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने प्रक्रिया अघि बढाउनुभएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणका लागि आवश्यक कार्यविधि उहाँले स्वीकृत गर्नुभएको हो।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा सरकारी अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सरकारले उखु किसानलाई उत्पादनका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ। उक्त अनुदानले उखु खेतीमा किसानको आकर्षण बढाउन तथा उत्पादन लागतको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

