राजेन्द्र प्रजापती/हाम्रो हेडलाइन
तनहुँ । चिसो मौसम सुरु भएसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अझै दसैंको बिदामा यहाँ घुम्न आउनेको भिड बढेको छ । बिहानको कुहिरो र मनमोहक सूर्योदयको दृश्य अवलोकन गर्न पर्यटकको आउने गर्दछन् ।
मानुङकोटबाट बिहान दमौली बजार आसपासको क्षेत्र कुहिरोले ढाकिएर सेताम्मे देखिन्छ । तलाउजस्तै फैलिएको कुहिरोको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। घाम लाग्दै जाँदा कुहिरो हट्न थालेपछि नागबेली परेको मादी नदी, हरियाली पहाड र पृष्ठभूमिमा देखिने हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको मानुङकोट दमौली बजारबाट करिब आठ किलोमिटर पश्चिममा पर्छ। यहाँबाट सूर्योदयसँगै सूर्यास्तको दृश्यसमेत अवलोकन गर्न सकिन्छ।
सूर्योदय हेर्न आउने पर्यटक अघिल्लो दिन नै होटलमा बास बस्न पुग्ने गरेका छन्। साँझ सूर्यास्तको मनोरम दृश्य अवलोकन गरेपछि भोलिपल्ट बिहान सूर्योदय हेरेर फर्कने पर्यटकको संख्या पनि उल्लेख्य रहेको छ।
चिसो मौसमसँगै कुहिरो र सूर्योदयको आकर्षण बढ्दै जाँदा मानुङकोट तनहुँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा थप चर्चित बन्दै गएको छ।


![सुन्दर मानुङकोट [फोटो फिचर]](https://hamroheadline.com/wp-content/uploads/2026/10/manma-1024x768.jpg)