काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ। यस वर्ष यमपञ्चक अर्थात् तिहारका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुने भएका छन्।
समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ भने कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ। समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने धार्मिक परम्परा रहेको छ।

