महासंघले जारी गरेको विज्ञप्तिमार्फत सरकारको प्रेस स्वतन्त्रताप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको महासंघले जनाएको छ ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि महासंघले विरोध जनाएको छ ।
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ ।
यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी, मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने महासंघले जनाएको छ ।
महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।

