काठमाडौं । दक्षिण कोरियामा मोबाइल फोनमा ठूलो आवाजसहित आपत्कालीन सूचना (इमर्जेन्सी अलर्ट) आउन सक्ने भन्दै नेपाली राजदूतावास सोलले त्यहाँ रहेका नेपाली नागरिकलाई नआत्तिन आग्रह गरेको छ।
दक्षिण कोरियामा नोभेम्बर १९ अर्थात् बिहीबार सञ्चालन हुन लागेको शैक्षिक योग्यता परीक्षा ‘कलेज स्कोलास्टिक एबिलिटी टेस्ट’ (सीएसएटी) लाई लक्षित गर्दै विशेष सतर्कता अपनाइएको हो। कोरियाली शिक्षा मन्त्रालयको समन्वयमा परीक्षा अवधिभर सुरक्षा तथा सतर्कतासम्बन्धी सूचना प्रवाह गरिने दूतावासले जनाएको छ।
परीक्षाको मर्यादा कायम राख्न, चिटिङ रोक्न तथा प्रतिबन्धित विद्युतीय उपकरणको अनधिकृत प्रयोग नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो। परीक्षा नोभेम्बर १९, २०२६ बिहीबार बिहान ८ः४० बजेदेखि अपराह्न ५ः४५ बजेसम्म सञ्चालन हुनेछ।
उक्त अवधिमा दक्षिण कोरियामा बसोबास गर्ने कोरियाली तथा विदेशी नागरिकका मोबाइल फोनमा विभिन्न समयमा इमर्जेन्सी अलर्ट सन्देश पठाइनेछ। त्यस्ता सन्देश मोबाइलमा ठूलो आवाजसहित बज्न सक्ने भएकाले नआत्तिन दूतावासले अनुरोध गरेको छ।
नेपाली राजदूतावास सोलले सूचना जारी गर्दै मोबाइलमा अलर्ट प्राप्त हुँदा त्यसलाई वास्तविक आपत्कालीन घटना नसम्झन आग्रह गरेको हो। यो नियमित परीक्षा सुरक्षा सतर्कताअन्तर्गत पठाइने सूचना भएकाले सबै नेपाली नागरिकलाई सचेत रहन दूतावासले अनुरोध गरेको छ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै दूतावासले त्यहाँ कार्यरत तथा अध्ययनरत सम्पूर्ण नेपाली नागरिकलाई उक्त जानकारी गराएको हो।

