काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा आर्थिक अनियमितताको अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले अर्याललाई पक्राउ गर्न अनुमति दिएको हो। सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका हुन्।
यस प्रकरणमा प्रहरीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ रहेका छन्।
मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग सम्बन्धित आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
यसअघि पनि यही प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परिसकेका छन्। अनुसन्धानका क्रममा उच्च सरकारी पदमा रहेर काम गरेका व्यक्तिहरूको संलग्नताबारे समेत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

