काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जाभा (Java) प्रोग्रामिङ ल्याङ्ग्वेज र एनजिनएक्स (NGINX) वेब सर्भर प्रयोग गरिएका प्रणालीमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै सम्बन्धित निकाय तथा प्रणाली सञ्चालकलाई सतर्क रहन आग्रह गरेको छ ।
केन्द्रले बिहीबार (३ मङ्सिर) जारी गरेको साइबर सुरक्षा एडभाइजरीमार्फत ‘Java4Shell’ र ‘NGINX2Root’ नामका दुई सुरक्षा समस्याबारे जानकारी गराएको हो ।
यी कमजोरीको दुरुपयोग भएमा सर्भरमा अनधिकृत पहुँच प्राप्त गर्नेदेखि प्रणालीमाथि नियन्त्रण कायम गर्नेसम्मका जोखिम रहेको केन्द्रले जनाएको छ ।
एडभाइजरीअनुसार Java4Shell (CVE-2026-114938) ओपनजेडीके (OpenJDK) मा बेस६४ (Base64) डेटा डिकोड गर्ने प्रक्रियासँग सम्बन्धित सुरक्षा कमजोरी हो । यसको दुरुपयोगबाट केही निश्चित हार्डवेयरमा टाढैबाट कोड सञ्चालन (Remote Code Execution) गर्न वा एप्लिकेसन क्र्यास गराउन सकिन्छ ।
त्यस्तै, NGINX2Root अन्तर्गत एनजिनएक्स वेब सर्भरको मेमोरी व्यवस्थापनसँग सम्बन्धित पाँचवटा सुरक्षा कमजोरी पहिचान भएका छन् ।
यसअन्तर्गत CVE-2026-123007, CVE-2026-123634, CVE-2026-123633, CVE-2026-121810 र CVE-2026-113425 रहेका छन् ।
यी कमजोरीको दुरुपयोग गर्ने आक्रमणकारीले एनजिनएक्स वर्कर प्रोसेसकै समान अधिकार प्रयोग गरी कोड सञ्चालन गर्न सक्ने एडभाइजरीमा उल्लेख छ ।
सम्भावित साइबर आक्रमणबाट प्रणालीलाई सुरक्षित राख्न केन्द्रले एडभाइजरीमा उल्लेख गरिएका सुरक्षा उपाय तत्काल लागू गर्न सम्बन्धित निकाय तथा प्रणाली सञ्चालकलाई आग्रह गरेको छ ।

