काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आठ महिनापछि मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम पुनः हेरफेर गरेको छ। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा बिहीबार मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्।
गौतमको मर्यादाक्रम चार स्थान माथि उक्लिएसँगै यसअघि चौथो स्थानमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, पाँचौँ स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ छैटौँ र छैटौँ स्थानमा रहेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल सातौँ स्थानमा पुगेका छन्।
यसअघि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीलाई पनि मर्यादाक्रममा माथि सारेर नवौँ स्थानमा पुर्याइएको थियो।
नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन्द्र शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन्। मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रम भने परिवर्तन भएको छैन।

