काठमाडौं । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि तनावग्रस्त बनेका मृतकका आफन्त र अस्पतालबीच सहमति भएको छ । उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरि उक्त अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाइ खर्च ब्यहोर्ने, २ छोरीहरूको विवाह खर्च ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ ।
उपचारका लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि चौधरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका थिए । मर्गौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका थिए । सहमतिपछि ऐजनलालको शव आफन्तले बुुझेका छन् ।