काठमाडौं । सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितको अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम दुई किस्तामा उपलब्ध गराइनेछ ।
कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट २६ हजार ५५७ घर पूर्ण क्षतिग्रस्त भएको सरकारी तथ्यांक छ । त्यस्तै ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको छ । प्राधिकरणले अस्थायी आवास निर्माण गर्न ३ फरक-फरक साइज क्षमताका घरको नक्सासमेत तयार पारेको छ ।
अस्थायी आवासका लागि मात्रै चार अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको छ । आवास निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत जनशक्तिलाई पनि प्रयोग गर्ने प्राधिकरणको तयारी छ ।