काठमाडौं । सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ।
बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन्।
यसैबिच काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले दोस्रो पटक प्रेस विज्ञप्ति जारी गर्दै शीतल निवास (राष्ट्रपति निवास) र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको हो। यसअघि काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कसपसम्म, पश्चिम सामाखुसी निस्किने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पतालमा जाने मोडसम्म निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैङ्क चोक र सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १ सय मिटरसम्म पाँच जना भन्दा बढी भेला हुन नदिने बताएको छ।
यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पनि विज्ञप्ति जारी गर्दै ‘हाइ प्रोफाल’बसोबास क्षेत्र र ठुला कार्यालयहरू भएका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।