काठमाडौं । क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ। पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित उजुरी परेको हो। सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि उजुरी आह्वान गरेको थियो।
पौड्यालले प्रतिमहिना ६ लाख रूपैयाँ उपलब्ध हुने दुई वर्षको छात्रवृत्तिमा छोरीलाई पठाएको र छोरी सरकारी कर्मचारी नै नरहेको उजुरीमा उल्लेख छ।
उनले त्यस्तो छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीट्जरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत त्यहाँका कर्मचारीकै आवास गृहमा राखेर छोरीलाई पढाएको समेत आरोप लागेको छ।
त्यस्तै समितिमा परेका उजुरीहरुमा पौड्यालविरुद्व खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लगाइएको छ।