काठमाडौं । बिहीबारदेखि ६ वटा उच्च अदालतबाट अनलाइनमार्फत बहस गर्न सकिने भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थप चारवटा इजलासमा भर्चुअल बहसको शुभारम्भ गरेपछि यस्तो इजलासको सङ्ख्या ६ वटा पुगेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहीबार सर्वोच्च अदालतबाटै उच्च अदालत सुर्खेतको जुम्ला इजलास, विराटनगरको धनकुटा इजलास, दिपायलको महेन्द्रनगर इजलास र पाटनको हेटौँडा इजलासमा अनलाइनमार्फत बहस गर्न सकिने व्यवस्था गरिएको हो ।
बिहीबार चारवटा थप इजलासको व्यवस्था गरिएसँगै उच्च अदालतमा भर्चुअल बहस गर्न सकिने इजलासको सङ्ख्या ६ वटा पुगेको छ । यसअघि उच्च अदालत दिपायल र इलाम इजलासमा यस्तो व्यवस्था गरिएको थियो । सेवाग्राही तथा कानुन व्यवसायीको समय बचत गर्न, खर्चमा कमी ल्याउन र न्यायमा पहुँच पुर्याउने उद्देश्यले भर्चुअल बहसको सेवा समेत सुरु गरिएको प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले यस्तो सेवाले नेपालको भू धरातलीय स्थिति र दुर्गमका जनतालाई न्यायमा सहज पहुँचका लागि सहयोग मिल्ने र सेवाग्राहीले गर्नुपर्ने खर्च तथा भोग्नुपर्ने सास्तीमा कमी आउने बताए ।
उच्च अदालत दिपायलको भर्चुअल बहसमा कानुन व्यवसायी, इजलास र कारागार कार्यालयमा समेत लिङ्क दिने गरिएको भन्दै जेलमा रहेका कैदीवन्दीहरुले समेत आफ्ना कानुन व्यवसायीले कस्तो बहस गरे भन्नेसमेत प्रत्यक्ष देख्न र सुन्न पाउने बताए ।