काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (२८ मंसिर, २०८०, बिहीबार) देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न पााइने छैन।
काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थमा लगाइएको प्रतिबन्धनबारे जानकारी दिएको थियो। पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नविन मानन्धरले जस्तोसुकै तरिकाले प्याक गरिएको भए पनि कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको बताए।
मानन्धरको भनाइ थियो, ‘प्लास्टिकमा प्याकिङ गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो। तर त्यसो होइन। सुर्तीजन्य वस्तु प्लास्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो। प्लास्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लास्टिक प्याकिङको कुरा जोडिएको हो। कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो।’
महानगरपालिकाले मंसिर १२ गते नै १५ दिने अवधि दिएर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको थियो। अब भने महानगरपालिकाले प्रतिबन्धको कार्यान्वयनको अवस्थाबारे अनुगमन सुरु गर्ने छ।
महनगरपालिकाले बिहीबारदेखि नै अनुगमन गर्ने प्रवक्ता मानन्धर बताउँछन्। त्यसका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन्।
पसलहरुमा सुर्तीजन्य पादर्थ भण्डारण वा बिक्री गरेको पाइए पहिलो र दोस्रोपटक जफत गरिनेछ। तेस्रो पटक पनि भण्डारण वा बिक्री गरेको पाइए पसल नै बन्द गराइने प्रवक्ता मानन्धरले जानकारी दिए।