काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिए।
जंगी अड्डाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषदले सिग्देललाई रथीमा पदमा बढुवा गरेको हो । बढुवापछि सिग्देललाई सेनाको प्रधानसेनापति बन्न् बाटो खुलेको छ । उनी २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रमुख बन्नेछन् । तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि रथी पद रिक्त थियो ।
रथी पदमा यसअघि तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्ने तयारी भए पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा अलग जन्ममिति भेटिएपछि उनले कात्तिक २४ गते राजीनामा दिएका थिए । पाण्डे बाहिरिएपछि सेनाले वरीयताका आधारमा सिग्देललाई बढुवा गरिएको हो ।
त्यस्तै बैठकले नेपाल परराष्ट्र सेवा तर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणी(सचिव) रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ भने विद्युत खपत बृद्धि तथा खनिज इन्धन न्यूनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।
त्यसअघि सिंहदरबारमा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा भएको थियो। चौमासिक समीक्षा सन्तोषजनक नपाइएको प्रवक्ता शर्माले बताए।
चौमासिक समीक्षामा केहि मन्त्रीहरु कार्यव्यस्तताका कारण अनुपस्थीत भएकाले पुन अर्को बैठक बस्ने उनले जानकारी दिए।