काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले आफ्नो कार्यशैली बद्लेर काम गर्ने बताएका छन्।
आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकीको चिन्तामा आफू रहेको भन्दै अब सरकारले कार्यशैली बदलेर काम गर्ने बताएका हुन्।
अब केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रम, बजेटको तयारी एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने उनले अठोट गरे।
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार असफल नभएपछि आफ्नै हुटहुटी अनुसारको परिणाम भने नआउको बताए।
‘म यो सम्बोधनबाट देशवासीहरुसामु स्वीकार त गर्छु, सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन। म बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,’ उनले भने, ‘देश कति बन्यो भन्दा पनि कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक गर्न चाहन्छु, अब सरकारको कार्यशैली बद्लिने छ। केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रमको बजेटको तयारीमा एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने छु।’