काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता मीन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सकेसम्म सहमतिमै गठबन्धनबाट साझा उम्मेदवार बनाउन पहल गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
उनले यसअघि अवसर नपाएका र अरु जिम्मेवार भूमिकामा नभएकाहरुलाई पार्टीको तर्फबाट राष्ट्रियसभामा अघि सार्ने निर्णय भएको बताए ।
‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट बञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ’, उनले भने ।
उनका अनुसार बैठकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्नेमा जोड दिएको छ ।
त्यस्तै कांग्रेसले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ ।