काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।
पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।
अछामका वीरेन्द्र शाहलाई प्रहरीको गोली लागेको थियो भने दैलेखका सजन रावतको भने छातीमा निलो डाम थियो, जुन बन्दुकको कुन्दाले हानेर भएको प्रदर्शनकारीको दाबी छ ।
घटना भएकै दिन साँझ नै गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तर प्रहरीकै नेतृत्वमा बनेको छानबिन समितिमाथि सार्वजनिक रुपमा प्रश्न उठेको थियो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा पनि नेताहरुले उच्चस्तरीय छानबिन आयोग बनाउनु उपयुक्त हुने धारणा राखेका छन् ।