काठमाडौं । सर्लाहीको बरहथवामा नेपाली कांग्रेसको अगुवाइमा भएको प्रदर्शनको क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साह छन् ।
आन्दोलनकारीले प्रहरीको गोली प्रहारबाट साहको मृत्यु भएको बताएका छन् तर प्रहरीले गोली प्रहारको पुष्टि गरेको छैन । प्रहरीले आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले झडपको क्रममा ६ जना प्रहरी र २ जना स्थानीय घाइते भएका जानकारी दिए । बरहथवा–६ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस सहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको बताइएको छ ।