काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुक वा अन्तरसरकारी संघसंगठनसँग भएका सन्धिसम्झौता, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले बताइन् ।
बैठकले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति र सम्झौताको पूर्ण विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
बैठकमा समितिका सदस्यहरूले नेपालको आवश्यकताका आधारमा मात्रै मित्रराष्ट्रबाट सहयोग लिनुपर्ने धारणा राखेका छन् । समितिका सदस्य जीवन परियारले नेपालको आवश्यकता र प्राथमिकतामा आधारमा सहयोग लिने र खर्च गर्ने परिपाटी सिर्जना गर्नुपर्ने बताए ।
सदस्य परियारले समितिको क्षेत्राधिकार अन्तराष्ट्रिय सन्धिसम्झौता पनि रहेकाले समितिमा नै छलफल हुनुपर्ने धारणा राखेका छन् ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग हालै भएका सहमतिबारे जानकारी गराएका छन् ।