काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलको निमन्त्रणामा एकसाथ शितलनिवास पुगेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु बनाउन र निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए ।
त्यस्तै, राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो-तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका छन् ।