काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न/गराउन सरकारलाई विभिन्न निर्देशन दिएको छ।
आयोगले मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै उक्त निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट सिफारिस समेतका आधारमा बुधबार बसेको आयोगको बैठकबाट नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशनहरू दिने निर्णय गरेको हो।
निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रवन्ध मिलाउने निर्देशन दिइएको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउने निर्देशन पनि गरिएको छ।