काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ स्थित गैराज्युला सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेका ५ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।
कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा. तपेन्द्रबहादुर शाह, सब–इन्जिनीयर महेश बुढ्थापा, गैराज्युला कृषि सिँचाइ निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामले सफाइ पाएका छन् ।
मुगु छायाँनाथ रारा नगरपालिका–४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्यांकन गर्नुको साटो बदनियत राखी नभए/नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्यांकन गरी झूटा बिल भरपाई, नापी किताब, मूल्यांकन बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २ लाख ११ हजार ३१६ रुपैयाँ बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो ।
गत वर्ष मंसिर ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा आईतबार विशेष अदाललते सफाइ दिने फैसला गरेको छ ।