काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए।
‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिंगो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए।
सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारे।