काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् ।
यसअघि बिहीबार आयोगले गृहमन्त्री लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले दोषी नउम्किने र निर्दोष नफस्ने गरी दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरमा ल्याउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन् । उनले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।