काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतीकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताका आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरूमा राजनीतिको गन्ध आउन दिन नहुने बताए । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताए । उनले कुनै शैक्षिक संस्थामा पनि राजनीतीकरण, हस्तक्षेप र खेलवाड हुने छैन भनेर राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।
प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिबद्धताकै आधारमा छान्नुपर्ने बताए । उनले दलीय निकटताको हिसाबले नभएर योग्य मानिस र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे । उनले विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्त्वपूर्ण पक्ष भएको बताए ।