काठमाडौं । गुगलले प्रिमियम एआई फिचरसहित ‘ए’ सिरिज अन्तर्गत पिक्सेल ८ ए फोन सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक भएकाे फोनमा कम्पनीले सात वर्षसम्मको सफ्टवेयर सपोर्ट दिनेछ ।
यो फोन गत वर्ष सार्वजनिक भएको पिक्सेल ८ जस्तै देखिन्छ । यसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.१ इन्चको डिस्प्ले छ । क्यामेरा भने पिक्सेल ७ एकाे जस्तै छ । अर्थात् यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १३ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ । त्यस्तै प्रोसेसरमा गुगलकै टेन्सर जीथ्री छ ।
फोनमा गुगल सर्कल सर्च, बेस्ट टास्क, म्याजिक इडिटर, अडिओ म्याजिक इरेजर लगायतका एआई फिचर पाउन सकिन्छ ।
यो फोन १२८ जीबी र २५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । गुगलले यो फोनबाट पहिलो पटक २५६ जीबी स्टोरेज विकल्प दिएको हो ।
यसमा २७ वाटको चार्जिङ सपोर्ट गर्ने गरी ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । एन्ड्रोइड १४ मा आधारित फोनको मूल्य ४४९ डलर (करिब ६८ हजार रुपैयाँ)बाट सुरु हुन्छ ।