तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’ गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ ।
उक्त पहरामा आजभोली आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ । उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । सो ठाउँ पर्यटकीय स्थलका रूपमा विकास भएपछि थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ ।
लायन्स क्लब अफ आँबुखैरेनी सिटी र लियो क्लब अफ आँबुखैरेनीले बिहीबार ऐनापहरामा निर्माणाधीन उद्यानमा विभिन्न प्रजातिका फूल रोपिएको हो ।
लियो क्लब अफ आँबुखैरेनी सिटीका उपाध्यक्ष नीरज श्रेष्ठले गाउँपालिकाले यस ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेको र उक्त अभियानमा आफूहरूले साथ दिएको बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए ।
गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको संख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।
यस्तै ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको पनि उनले बताए । झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताए । उनका अनुसार यहाँ उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।